Kath khabar
सरकारको नीति तथा कार्यक्रम आज

 

                 काठमाडौं, जेठ ५ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका हुन् ।

संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

यसअघि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने कि राष्ट्रपतिले पढ्ने भन्ने अन्योल थियो। बुधबार राष्ट्रपति कार्यालयबाट संसद्‍ सचिवालयमा पठाउँदै राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने जानकारी दिएको थियो।

राष्ट्रपति चयन भएपछि सङ्घीय संसदमा पौडेलेले पहिलो सम्बोधन गर्न लागेका हुन्। संसदमा राष्ट्रपति उपस्थित हुँदा  राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन्।

संयुक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को  दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन्। प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ। 

 


 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update