काठमाडौं, जेठ ३१ । मुुलुकको वित्तीय अवस्था कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी १० महिनाको प्रतिवेदन अनुसार मुुलुकको वित्तीय अवस्था कमजोर देखिएको छ ।
प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको १० महिनामा कुल वस्तु आयात २२ दशमलव तीन प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो ।
यसैगरी चालुु आवको पछिल्लो दश महिनामा कुल वस्तु व्यापार घाटा २१ दशमलव पाँच प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४ दशमलव दुई प्रतिशतले घटेको थियो । प्रतिवेदन अनुसार चालु आवको १० महिनामा कुल वस्तु निर्यात ३२ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब आठ अर्ब ४८ करोड पुगेको छ । यसरी आयात संगै निर्यात बढेपनि व्यापार घाटा पनि बढ्दा मुुलुकको अर्थतन्त्र कमजोर देखिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात चार दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ३५ दशमलव आठ प्रतिशत र २५ दशमलव तीन प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १८ दशमलव चार प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९ दशमलव आठ प्रतिशत, १७ दशमलव दुई प्रतिशत र छ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।
निर्यात तर्फ तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयात तर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात आठ दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७८ वैशाख महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाई मूल्य सूचकांक शुन्य दशमलव ४७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक सात दशमलव एक प्रतिशतले बढेको छ । २०७७ वैशाख महिनामा एक दशमलव तीन प्रतिशतले बढेको व्यापारको शर्त २०७८ वैशाख महिनामा दुई दशमलव तीन प्रतिशतले घटेको छ । समीक्षा अवधिमा खुद सेवा आय ५४ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७८ करोड ८२ लाखले बचतमा रहेको थियो ।