Kath khabar
विपन्नलाई निःशुल्क सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म बुझाइसक्न मेयर बालेनको निर्देशन

 

                    काठमाडौं, जेठ ७ ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने बताएका छन् ।

साहले अस्पतालमा १० प्रतिशत शय्या छुट्याएर गरिब तथा विपन्न बिरामीलाई उपचार दिएको विवरण हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिएका हुन् ।

‘अस्पतालले दिने सेवा सुविधाहरूको गुणस्तरीयताको बारेमा तोकिएको मापदण्डले प्रस्ट व्यवस्था गरेको सवैमा विदितै छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था छन् । विद्यमान स्वास्थ्य सम्बन्धी ऐन, कानुन र मापदण्डहरू पूर्ण कार्यान्वयन गराउन प्रभावकारी कदम चाल्न विभिन्न क्षेत्रहरूबाट सुझाव प्राप्त भएका छन्', सामाजिक सञ्जाल मार्फत उनले भनेका छन् ।

महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णय अनुसार सम्बन्धित सबैलाई सूचना जारी गरिएको उनले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update