सान साल्भाडोर, जेठ ७ । एल साल्भाडोरको राजधानी सान साल्भाडोरको कस्काटलानस्थित मोनुमेन्टल फुटबल स्टेडियममा शनिबार राति भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएका छन् भने कैयौँ घाइते भएका छन् ।
भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ । फुटबल टोली अलियान्जा एफसी र एफएएसबीचको खेल हेर्न स्टेडियममा प्रशंसकहरू प्रवेश गर्न खोजेपछि भागदौड भएको सिएनएनले जनाएको छ । जानकारीका अनुसार केही व्यक्तिले जबरजस्ती रंगशाला भित्र पस्ने प्रयास गरेका थिए । यसै क्रममा भागदौड भएको थियो ।
प्रहरीका अनुसार १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये दुईको अवस्था गम्भीर छ । ५ सय जनाको उद्धार गरिएको छ । स्टेडियमले दुई लोकप्रिय एल साल्भाडोरको प्रिमियर डिभिजन टोलीहरू बीचको क्वार्टर फाइनल खेल आयोजना गरिरहेको थियो। अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् ।
एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले दुर्घटनापछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्ने बताए । उनले दोषी जोसुकै भए पनि उन्मुक्ति नदिने बताए ।