दाङ, जेठ ७ । सामाजिक सञ्जालमा व्यापक रुपममा आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने भन्दै सर्वसाधारण नागरिकहरूमा भ्रम सिर्जना गर्ने 'सिमान्त गुरू’ भनिने भरत केसी दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फर्किएका छन्।
काठमाडौं र पोखरामा रोग निको पार्छु भनेर ठगी धन्दा चलाएका केसी आज दाङको तुल्सीपुर पुगेर सर्वसाधारणलाई भेट्ने कार्यक्रम आयोजना गरेका थिए । तर उनको कार्यक्रम इलाका प्रहरी कार्यालय तुलसीपुरले कार्यक्रम रोकेको थियो । निर्धारित कार्यक्रम रोकिएपछि उनी त्यहाबाट नेपालगञ्जका लागि हिडेको बताइएको छ ।
आफूसँग अलौकिक मनोवैज्ञानिक क्षमताको ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिए लगत्तै मानिसहरू बिहानै तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरमा लाइनमा बसेका थिए । उनी आउने खबर पाएपछि जिल्ला बाहिरबाट पनि केही मानिसहरू शनिबार नै आएर तुलसीपुरका होटेलहरूमा बसेका थिए ।
सामाजिक सञ्जाल टिकटकमा भिडिओ पोष्ट गर्दै केसीले आफूसँग अलौकिक क्षमता भएको र बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै दाबी गर्ने गरेका छन्। उनको त्यो क्षमतालाई विश्वास गरेर विभिन्न स्थानका सर्वसाधारणहरु उनलाई आफ्नो बिरामी देखाउन जाने गरेका छन्।