काठमाडौं, जेठ ८ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार विरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफललमा सहभागी हुँदै उनले पञ्च, राजा देखि सबै उच्च पदस्थ र उनका आफन्तको सम्पत्ति आयोग बनाएर छानबिन गर्न आग्रह गरे।
भ्रष्टाचार विरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै उनले भ्रष्टाचार विरुद्धको अभियानका लागि उच्च पदस्थ सबै व्यक्ति र उनीहरुरुका आफन्त सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन्।
‘नीति तथा कार्यक्रममा एउटा स्वतन्त्र नागरिक आयोग गठन गरेर ४८, ४६ जहिल्यैको मिति तोकिदिनुस्। मैले त भनेको छु, पञ्चहरुको, राजाको, क-कसकोबाट र कोबाट शुरु गर्ने हो। तर, अब सबैको सम्पत्ति छानबिन गरिनेछ।
उनका नातागोता, परिवारको सम्पत्ति छानबिन गरिनेछ र अवैधानिक सम्पत्ति जफत गरिनेछ र कारबाही गरिनेछ भनेर लेख्नुस् न अनि पो यो सरकार भ्रष्टाचार विरुद्ध निर्मम आयो भनेर विश्वास गर्ने,’ बैठकमा लिङ्देनले भने।
यसैबीच लिङ्देनले संसदमा पेश भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन्। उनले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधान देखि देशको समृद्धिमा काम गर्न नसक्ने भन्दै पुनर्लेखन गर्नु हिच्किचाउन नहुने बताए।
सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गरेर ल्याउन सुझाव दिँदै उनले विनाअध्ययन कार्यक्रम समावेश गरिएको बताए। विद्युत् प्राधिकरणको सेयर निष्कासन गर्न सुझाव दिँदै उनले बुढीगण्डकी, दुधकोशी र तमोरजस्ता आयोजनामा नेपालकै पैसा लगानी गर्नुपर्ने बताए।