Kath khabar
एक साताको प्रशिक्षण पश्चात दक्षिण अफ्रिका जाँदै नेपाली टिम

 

                 काठमाडौं, जेठ ८ ।  जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमलाई मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको छ।

दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। नेपाली टिमको तयारी भोलि देखि शुरु हुनेछ। दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि नेपालले  विश्वकप छनोटका लागि राष्ट्रिय टिम घोषणा गर्नेछ। नेपालले दक्षिण अफ्रिकामा १० दिन तयारी गर्नेछ। नेपाली टिम प्रतियोगिता शुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।

जिम्बावेमा आगामी जुन १८ देखि शुरू हुने विश्वकप छनोटमा ४ टेस्ट राष्ट्र सहित १० टिमले भाग लिँदैछन्। २ पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलंका सहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन्। 

नेपाल सहित ओमान र स्कटल्यान्डले लिग-२ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए। यस्तै युएई र अमेरिकाले लिग-२ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट जिम्बावेको टिकट काटेका  थिए। छनोट प्रतियोगिताबाट २ टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन्। 

विश्वकप छनोटमा सहभागी हुने टिमहरू : वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे (आयोजक), आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई।

विश्वकप छनोटमा पुगेका १० टिमलाई शुरुमा २ समूहमा विभाजन गरिनेछ। ५/५ टिमको २ समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष ३/३ टिम पुग्नेछन्। 

सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update