काठमाडौं, जेठ ९ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरूलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको छ ।
हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ र ८ जना टिम अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ नगद बैंकले प्रदान गरेको हो । नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसियलहरूलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय रुपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरवपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरको बताउनुभयो ।
क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताउनुभयो । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने मेरो सपना त वास्तवमा हामी सबैको सपना रहेछ, पूरा गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । कार्यक्रम मार्केटिङ्ग विभागका विभागीय प्रमुख अच्युत गौतमले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, बैंकमा क्रियाशील तीन वटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका उपाध्यक्ष जितेन्द्र राई, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धक, मुख्य शाखा कार्यालयका प्रबन्धक, कर्पोरेट शाखाका प्रबन्धक लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यु आर कोड सेवा, पस ( प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपिएस, स्मार्ट क्यु आर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृतरुपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।
।