Kath khabar
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

 

               ललितपुर, जेठ ११ ।  ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रथ रहेको ठाउँ जावलाखेलमा भोटो देखाइएको हो ।

भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, ललितपुरका सांसद लगायत सरकारका उच्च पदस्थ व्यक्ति पनि जावलाखेल पुग्नुभएको छ।

काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले आज बिहानै देखि भक्तजनको घुइँचो लागेको छ । भोटो जात्राका अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । अघि दिउँसो हावाहुरीसँगै केहीबेर परेको पानीले प्रसाद ग्रहण गर्ने कार्यक्रम प्रभावित भएको थियो ।

कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। बाक्लो भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए।

त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद ग्रहण गरे। भोटो देखाएसँगै उपत्यकाको सबभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ।

आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गाल लगिनेछ । गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यसवर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै सकिनेछ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update