Kath khabar
एमालेको अवरोध पछि २० मिनेटका लागि संसद बैठक स्थगित

 

              काठमाडौं, जेठ १२ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आजको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ। 

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम थियो। बैठक निर्धारित समय भन्दा झन्डै साढे १ घन्टा ढिला शुरू भएको थियो‍। सभामुख देवराज घिमिरले बैठक शुरू गर्ने बित्तिकै एमालेका सांसदहरू उठेका थिए।

त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले प्रति लक्षित गर्दै 'पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको' आरोप लगाएका थिए। त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुन: उठेका थिए। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने माग समेत गरेका छन्।

सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले वेल घेरेर नाराबाजी समेत गरेका थिए । नाराबाजीपछि सभामुख घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update