Kath khabar
काठमाडौंमा बिहानै देखि खप्नै नसकिने गर्मी, विराटनगर र सिमरामा २ दिन विद्यालय बन्द हुने

 

                काठमाडौं, जेठ १८ ।  केही दिनयता देशभर तापक्रम बढ्दा गर्मी भइरहेको छ। खासगरी अत्यधिक गर्मीले पूर्वी तथा मध्य तराईको जनजीवन कष्टकर बनिरहेको छ।  त्यसो त काठमाडौं उपत्यकामै पनि अहिले बिहानै देखि गर्मी महसुस हुन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तीमा अरू ३ दिन तापक्रम बढ्ने क्रम रोकिने अवस्था देखिदैन । 

मौसम विज्ञका अनुसार ‘तापक्रम घट्नलाई पानी नै पर्नुपर्छ, मौसम बदली (आकाशमा बादल) हुनुपर्छ’,  ‘अझै २/३ दिन त्यस्तो ठूलो सिस्टम (पानी पार्ने मौसमी प्रणाली) आउने देखिन्न, त्यसैले तापक्रम घट्ने सम्भावना देखिन्न।’

मौसमविद् अधिकारीका अनुसार अहिले काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्रीभन्दा माथि पुगिसकेको छ। ‘हिजो (बुधबार) उपत्यकाको अधिकतम तापक्रम ३२.२ डिग्री सेल्सियस पुगेको छ’, उनले भने, ‘आज पनि यहाँ अधिकत तापक्रम ३१ देखि ३३ डिग्रीसम्म पुग्ने देखिन्छ, यसको अर्थ तापक्रम घट्ने सम्भावना छैन।’

काठमाडौं उपत्यका बाहिर सिमरा, भैरहवा जस्ता ठाउँमा त अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार बुधबार सबैभन्दा बढी तापक्रम सिमरामा ४१.२ डिग्री सेल्सियस देखिएको छ। यसपछि अन्य सबै स्थानभन्दा बढी अधिकतम तापक्रम भैरहवामा बुधबार ४०.९ डिग्री सेल्सियस पुगेको छ। 

हिजोआज कतै बदली नै नभएको तथा पानी नै नपरेको भने होइन। तर तापक्रम घट्नेगरी वर्षा नभएको मौसमविद् अधिकारीको भनाइ छ। उनका अनुसार सुदूरपश्चिम तथा पहाडी क्षेत्रमा मौसम बदली र फाटफुट वर्षा भइरहेकाले तुलनात्मक रूपमा त्यता तापक्रम धेरै वृद्धि भएको छैन। तराईकै हकमा पनि मधेश र लुम्बिनी प्रदेशमा जति उखरमाउलो गर्मी सुदूरपश्चिमतिर नभएको उनको भनाइ छ। 

आज दिउँसो पनि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक देखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा मात्र बादल) रहने मौसम महाशाखाले जनाएको छ। यस क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भेगका १/२ ठाउँमा  मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। ‘तर काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना अत्यन्तै न्यून छ’, मौसमविद् अधिकारीले भने।

त्यसैगरी गर्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा २ दिन बिदा दिइएको छ । महानगरपालिका र उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेका हुन् । अत्यधिक गर्मीका कारण विद्यालयको पठन पाठन लगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको हो ।

गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update