Kath khabar
गर्मीले हायल कायल जनजीवन, मनसुन अझै १० दिन टाढिँदै

 

                    काठमाडौं, जेठ २१ ।  केही दिनयता मुलुकका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । मधेश प्रदेशका धेरै स्थानहरुमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा ४० डिग्री सेल्सियस तापक्रम नाघेको छ । जेठ १६ गते रौतहटको गौरमा ४१.३ डिग्री पुग्दा १७ र १८ गते बढेर अधिकतम तापक्रम क्रमशः ४२.३ र ४३.३ डिग्री सेल्सियस पुगेको थियो ।  नवलपुरको दुम्कौलीमा ४३ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मध्य पहाडी क्षेत्रमा पनि तापक्रमले थ्रेसहोल्ड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार देशभरका २४८ वटा वर्षा मापन केन्द्रमध्ये १५ वटामा मात्रै वर्षा भएको पाइएको थियो । यस्तै, ३३ स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको थियो ।

यसपालि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । भारतमै मनसुन आउन ढिलाइ भइरहेकाले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार भारतमा मनसुन भित्रिएको २/३ दिनपछि बल्ल नेपालमा मनसुन आउँछ ।

सामान्यतया भारतमा जुन १ तारिखमा मनसुन भित्रने गरेको थियो । तर, यसपालि जुन ४ तारिख हुँदा सम्म मनसुन भित्रिएको छैन । आज जुन ४ तारिख हो । यसले गर्दा नेपालमा पनि ढिलाइ हुने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार यसपालि मनसुन भित्रिँदा असार लाग्ने सम्भावना छ  ।

सामान्यतया नेपालमा जुन १३ तारिख अर्थात् जेठ अन्तिम हप्तातिर मनसुन भित्रने गर्छ । तर यो मितिमा हरेक वर्ष जस्तो तलमाथि हुने गरेको छ । केही वर्ष छिट्टै र केही वर्ष ढिलो गरी मनसुन भित्रने गरेको सरकारी तथ्याङ्क छ ।  जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको समय मानिन्छ । यसपालिको मनसुनमा सरदर भन्दा कम पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले धेरैजसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो ।

तराई मधेसमा तातो हावा चल्ने र लू लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । तराई मधेससँगै पहाडी जिल्लामा पनि गर्मी बढेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि घाम चर्किन थालेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update