वेम्बली, जेठ २१ । म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ । हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीका इल्केए गुन्डोगानले २ गोल गरे ।
युनाइटेडका ब्रुनो फर्नान्डेसले १ गोल फर्काए । वेम्बलीमा खेलको पहिलो मिनेटमा नै गुन्डोगानको गोलबाट सिटीले अग्रता बनाएको थियो । ३३ औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरी खेललाई १-१ गोलको बराबरीमा ल्याए । तर खेलको ५१औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन । सिटीको यो सिजनको दोस्रो उपाधि हो ।
यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब सिटीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ । जुन ११ तारिखमा हुने खेलमा इन्टर मिलानलाई हराउन सके सिटीले ३ वटा उपाधि जित्नेछ ।