काठमाडौं, जेठ २२ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गतका मुद्दामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस शुरू भएको छ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबार थुनछेक बहस शुरू भएको हो। थुनछेक बहस सकिएपछि मुद्दाका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्ने आदेश हुन्छ। जसलाई अदालती भाषामा ‘थुनछेक आदेश’ भनिन्छ।
सामान्यतयाः अरू फौजदारी मुद्दामा अदालतले १ वा २ दिन बहस गरी थुनछेक आदेश जारी गर्ने अभ्यास छ। तर शरणार्थी प्रकरणमा भने १ वा २ दिनभित्रै आदेश हुने सम्भावना न्यून छ। शरणार्थी प्रकरणमा मुछिएका आरोपितलाई ५-५ वटा कसुरमा मुद्दा चलाइएको छ।
धेरै आरोपित र उनीहरूका पक्षमा बहस गर्ने कानुन व्यवसायीहरू पनि धेरै हुने भएकाले थुनछेक बहस सकिन कम्तीमा डेढ साता लाग्ने देखिएको छ। इजलासले १० दिनभित्रै बहस सकाएर थुनछेक आदेश जारी गर्ने योजना बनाएको छ। न्यायाधीश न्यौपानेले यही जेठ ३१ गतेसम्म आफूले थुनछेक आदेश दिन चाहेको बताएका छन्। बहसका लागि वादी (सरकार पक्ष) र प्रतिवादी (अभियुक्त पक्ष) का वकिललाई निश्चित समय व्यवस्थापन गरी बहस सकाएर ३१ गते साँझसम्म थुनछेक आदेश जारी गर्ने बताएका हुन्।
‘त्यो दिन (जेठ ३१ गते) चिया समयअघि तपाईंहरूले बहस सकिदिनुहोस्। चिया समयपछि अध्ययन गर्न केहीबेर लाग्ला,’ दुवै पक्षका वकिलहरूलाई बहसको सीमा तोक्दै न्यायाधीश न्यौपानेले भने, ‘त्यो दिन बेलुकासम्म आदेश दिनेछु।’
इजलासमा तोकिएको समय अनुसार वादी पक्षका वकिललाई बहस गर्न ३ दिन समय तोकिएको छ। जसअनुसार आइतबार, सोमबार र मंगलबार सरकारी (वादी) पक्षका वकिलले बहस गर्ने छन्। त्यसपछि ६ दिन प्रतिवादी पक्षका वकिलले बहस गर्ने छन्। जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्ने सहमति भएको छ। सोही दिन इजलासले थुनछेक आदेश दिनेगरी सहमति जुटाइएको छ। यसरी समय निर्धारण गरिए पनि बहस चल्दै गर्दा समय केही तलमाथि हुन सक्ने अवस्था रहने जानकार बताउँछन्।
समय निर्धारण गरिएसँगै आइतबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका तर्फबाट बहस शुरू गरिएको छ। जसमा महेश प्रसाद खत्रीले आफ्नो बहस सकाएका छन्। उनले बहसमा करिब ३ घण्टा समय लगाए। त्यसपछि जनक प्रसाद घिमिरेले बहस थालेका छन्। उनले सोमबार पनि बहस गर्नेछन्। त्यसपछि वादी तर्फबाट सीताराम अर्याल, प्रकाश घिमिरे, दिनेश भट्टराई, सूरबहादुर परियार र निर्मला मरासिनीले बहस गर्ने जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जनाएको छ।
यसैगरी वादीतर्फबाट बहसका लागि स्वागत नेपाल सहित ३ जना वकिलले वकालतनामाका लागि निवेदन दिएका छन्। जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले गर्नेछन्।
प्रतिवादी (अभियुक्त) का तर्फबाट प्रतिरक्षा बहस गर्न ‘हाई प्रोफाइल’ कानुन व्यवसायीहरू इजलासमा उपस्थित हुनेछन्। विशेषगरी भिआइपी अभियुक्तहरूको प्रतिरक्षामा हाई प्रोफाइल वकिलहरूले बहस गर्ने भएका हुन्। प्रतिवादीका तर्फबाट बहस गर्न नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे सहितका कानुन व्यवसायीले वकालतनामा दिएका छन्। घिमिरेले पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा प्रतिरक्षा बहस गर्ने भएका छन्।
खाणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्म बहादुर खाती, वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी लगायतले पनि बहस गर्ने भएका छन्। प्राजातान्त्रिक कानुन व्यवसायी महासंघ (डिएलए) का अध्यक्ष योगेन्द्र अधिकारी सहितले पनि खाणकै प्रतिरक्षामा बहस गर्न निवेदन दिएका छन्।
यस्तै एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल लगायतले बहस गर्ने भएका छन्। नेपाल सरकारका सचिव (हाल निलम्बित) टेकनारायण पाण्डेको प्रतिरक्षामा बहस गर्न पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले वकालतनामा भरेका छन्।