मुम्बई , जेठ २२ । महाभारतमा 'शकुनी मामा' को भूमिकामा देखिएका गूफी पेन्टलको निधन भएको छ।
सोमबार बिहान ७८ वर्ष उमेरमा उनको निधन भएको हो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनलाई ८ दिनदेखि मुम्बईको अंधेरीस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उनी लामो समयदेखि मुटु र मृगौला सम्बन्धि बिरामी थिए।
उनको आजै अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
महाभारतमा अर्जुनको भूमिका निर्वाह गरेका अभिनेता फिरोज खानले शोक व्यक्त गरेका छन्। 'गूफीको पछिल्लो २ दिनदेखि होश आएको थिएन। उनी आइसियुमा थिए। गूफीकै कारण मैले महाभारतमा काम पाएको थिएँ। यसको लागि म सँधै उनीप्रति कृतज्ञ रहने छु,' उनले भने।
गूफीले सन् १९७५ मा 'रफू चक्कर' बाट बलिउडमा डेब्यू गरेका थिए। तर उनी सन् १९८८ मा बिआर चोपडाको शो 'महाभारत' बाट चर्चामा आएका थिए।