काठमाडौं, जेठ २२ । भैंसीको प्रसंग उठेपछि प्रतिनिधिसभामा हंगामा मच्चिएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको जानकारीपछि थप प्रष्टीकरण माग गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा भैँसी चढेर आउनु परेको भन्ने शब्दप्रति अभिव्यक्ति दिएपछि सत्तापक्षका सांसदहरूले नियमापत्ति गरेका थिए ।
प्रतिनिधि सभाको रेकर्डबाट ‘प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको’ भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले यो शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
खनालले भन्नुभएको थियो, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा हामी चाहन्थ्यौँ, उहाँ आफैँले भर्खरै उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउनुहोला, दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरू आएँ ।’ त्यसपछि सभामुख घिमिरेले यो शब्दावलीलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि प्रधानमन्त्रीले समेत जवाफ दिने क्रममा त्यो शब्द उच्चारण गरेको भन्दै त्यो पनि हटाउन माग गरेका थिए । केही बेरको अवरोधपछि सभामुख घिमिरले भैँसी चढेर आएको भन्ने शब्द जोसुकैले प्रयोग गरेको भए पनि रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको थियो । त्यसपछि सदन फेरि सञ्चालन भएको छ ।