Kath khabar
ज्लाटन इब्राहिमोभिचले खेल जीवनबाट लिए सन्यास

 

                काठमाडौं, जेठ २२ ।  एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

४१ वर्षीय स्विडिस इब्राहिमोभिचले सिरी 'ए' को अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् । उनले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरिसकेका थिए । ‘मैले फुटबललाई गुडबाइ भनेको हुँ, तपाईंहरूलाई होइन,’ अन्तिम खेलपछि इब्राहोभिचले भने ।

पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र दुवै मिलान क्लबबाट खेलेका उनले क्लब फुटबलमा ५११ गोल गरेक थिए । उनले नेरदल्याण्ड्स, इटली, स्पेन र फ्रान्स गरी ४ देशहरूमा लिग उपाधि जितेका थिए ।

सन् २०११ मा एसी मिलानबाट सिरी 'ए' उपाधि जितेको इब्राहिमोभिच २०२० मा फेरि मिलान पुगेका थिए । जहाँ उनले २०२१ मा मिलाननलाई लिग जिताउन सहयोग गरे । तर यस सिजन भने चोटसँग संघर्ष गरेका उनले जम्मा ४ खेल खेले । त्यसमा १ खेलमा पहिलो रोजाइमा शुरु गरे ।

उनले मिलानबाट आफूले धेरै माया पाएको भन्दै धन्यवाद व्यक्त गरे । ‘मेरो लागि अहिले धेरै भावनाहरू छन् । फोर्जा मिलान र गुडबाइ,’ इब्राहिमोभिचले भावुक हुँदै भने, ‘पहिलो पल्ट म यहाँ आउँदा तपाईंहरुले मलाई खुशी दिनुभयो, दोस्रो पटक माया  । तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो । तपाईले मलाई घरमा महसुस गराउनुभयो । म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु ।’

इब्राहिमोभिचले १४ लिग उपाधि सहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक 'बालोन डी ओर'का लागि मनोनित भएका थिए । उनले क्लब फुटबलमा जित्न नसकेको मुख्य ट्रफी च्याम्पियन्स लिग रह्यो । सन् २०१७ मा उनले म्यानचेष्टर युनाइटेडबाट युरोपा लिग उपाधि जितेका थिए ।

इब्राहिमोभिचले स्वीडेनका लागि १२२  खेल खेल्दै सर्वाधिक ६२ गोल गरेका छन् । २०१६ को युरोकप पछि राष्ट्रिय टिमबाट सन्यसा लिएका उनी २०२१ मा फेरि राष्ट्रिय टिममा फर्केका थिए तर विश्वकपमा छनोट हुन सकेनन् । ‘जब पत्रकारले मेरो भविष्यको बारेमा सोध्थे म डराउँने गर्थे । तर अहिले म अहिले स्वीकार्न सक्छु । म तयार छु,’ सन्यास घोषणा पछि उनले भने ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update