काठमाडौं, जेठ २३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने सोमबार राति दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।
आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारी गर्न नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रिका पुगिसकेका छन् ।
सर्वोच्च अदालतमा पेशी भएकोले गत बुधबार टिमसँग दक्षिण अफ्रिका जान नपाएका सन्दीप आगामी असार २९ सम्मलाई पेशी सरेपछि उनी सोमबार साँझ दक्षिण अफ्रिका गएका हुन् । सन्दीप दक्षिण अफ्रिका पुगेर नेपाली टोलीसँग सहभागी हुनेछन् ।
दक्षिण अफ्रिकामा नेपाली टोलीले जेठ २५ मा स्कटल्यान्डसँग र जेठ २७ मा नेदरल्यान्ड्ससँग दुई वार्मअप खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाल उतैबाट जिम्बावे जानेछ ।
विश्वकप छनोटमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले सुरुवाती खेल १८ जुनमा जिम्बावेसँग खेल्नेछ ।