काठमाडौं, जेठ २४ । आज विश्व खाद्य स्वच्छता दिवस मनाईंदैछ । यस वर्षको नारा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ रहेको छ । नेपालको संविधानले हरेक नेपालीका लागि उपभोक्ताको हक, खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ ।
तर, ती व्यवस्था कार्यान्वयनको पक्ष भने निकै फितलो छ । बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट भएको पाइन्छ भने स्वास्थ्यलाई हानी गर्ने रसायन तथा रंगको समेत प्रयोग गर्ने गरेको पाइन्छ । अखाद्य तथा गुणस्तरहीन खाद्य बस्तुको उपभोगले नागरिकको स्वास्थ्यमा असर पर्ने हुँदा बस्तुको उत्पादनमा गुणस्तर मुख्य मानिन्छ ।
सरकारले विभिन्न १ सय ३७ वटा खाद्य पदार्थहरुको मापदण्ड र स्वच्छतासँग सम्बन्धी मापदण्ड तयार गरी लागू गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले बताउनु भएको छ । जिम्मेवार निकायले उपभोग्य बस्तुमा हुने कैफियत रोकथामको प्रयास गरेको दाबी गरे पनि बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट हुने गरेको भेटिन्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झण्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । अस्वस्थकर खानाले २ लाख ३० हजारको ज्यान जाने गरेको छ । अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखाला देखि क्यान्सरसम्मका रोग लाग्ने डब्लुएचओले जनाएको छ ।
खाद्य स्वच्छता सप्ताहमा अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट हुने हानी नोक्सानी, रोगको जोखिम बारे उपभोक्तालाई जानकारी गराउने, त्यसका लागि खाद्य स्वच्छता सम्बन्धी चेतना मूलक कार्यक्रम गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रणका विभागका महानिर्देशक डा. जोशीले जानकारी दिनुभयो ।
सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र संघको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ। दिवसका अवसरमा गएको मंगलवार देखि सप्ताहव्यापी कार्यक्रम गरिएको थियो ।
दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कृषि मन्त्री डा. बेदुराम भुसाल लगायतले शुभकामना व्यक्त गरी स्वच्छ खाद्य बस्तु उत्पादनका लागि खाद्य शृङ्खलाको हरेक चरणमा गुणस्तर युक्त अभ्यास तथा मापदण्डको अनिवार्य पालना गर्न आग्रह गर्नुभएको छ ।