काठमाडौं, जेठ २४ । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ४ दिने बेल्जियम भ्रमणमा जाने भएका छन् ।
सरकारले जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दै भ्रमण स्वीकृत गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको हो ।
यस्तै, काभ्रेको पाँचखाल न.पा स्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने, कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई नियुक्त गर्ने, माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुख हटाउन स्वीकृति दिने पनि निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।