रियाद, जेठ २४ । बालोन डी’ओर विजेता करिम बेन्जेमा पछिल्लो पटक साउदी अरेबिया क्लबसँग अनुबन्ध हुने सबैभन्दा नयाँ ठूला नामका खेलाडी बनेका छन् । रियाल मड्रिडका स्ट्राइकर बेन्जेमा मंगलबार स्वतन्त्र एजेन्टको रूपमा साउदी क्लब अल इत्तिहादसँग अनुबन्ध भएका हुन् ।
फ्रान्सका बेन्जेमाले यसै साता रियालसँगको १४ वर्षे यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसपछि बेन्जेमाले साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादसँग ३ वर्षको सम्झौता गरेका हुन् । उनले अल इत्तिहादमा पनि ९ नम्बरकै जर्सी लगाउने भएका छन् ।
“फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित छु । आफ्नो करियरमा अद्भभूत चिजहरू हासिल गर्नुका साथै स्पेन र युरोपमा मैले गर्न सक्ने सबै कुराहरू हासिल गर्न सकेकोमा आफूलाई भाग्यमानी ठानेको छु,’’ बेन्जेमाले भने, “अब यो नयाँ चुनौती र परियोजनाको लागि उपयुक्त समय हो जस्तो लाग्छ । म नयाँ टिमका साथीहरूसँग सामेल हुनको लागि उत्सुक छु । उनीहरूसँग मिलेर यो अद्भूत क्लब र साउदी अरेबियाको खेललाई नयाँ स्तर पुर्याउन मद्दत गर्ने छु ।’’
बेन्जेमाले आफ्नो रियालका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोको पथ पछ्याएका छन् । पोर्चुगलका फरवार्ड रोनाल्डोले गत डिसेम्बरमा अल नासरसँग अनुमानित २० करोड युरोभन्दा बढी रकममा सम्झैता गरेका थिए ।