दाङ, जेठ २४ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका किसानहरुले लगाएको बन्दागोभी बिक्री नभए पछि गाईबस्तु चराउन थालेका छन् । वडा नम्बर ११ मोतीपुरका किसानहरुले करिब ७ बिगाहा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभए पछि किसानहरुले दिनहुँ गाईबस्तु चराउने गरेका छन् ।
तुलसीपुर ११ मोतीपुरका किसान यज्ञबहादुर खत्रीले १ बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्नुभएको छ । १ कठ्ठा जग्गामा १२ क्विन्टलसम्म बन्दागोभी उत्पादन भएको छ । खत्रीको मात्रै १ बिगाह जग्गामा २ सय ४० क्विन्टल बन्दागोभी उत्पादन भएको छ । खत्रीका अनुसार त्यस गाउँमा मात्रै करिब १४ सय क्विन्टल बन्दागोभी उत्पादन भएको छ ।
किसान खत्रीले उत्पादित बन्दागोभी बिक्री नभए पछि गाईबस्तु चराउन थालिएको बताउनुभयो । १ बिगाह क्षेत्रफलमा बन्दागोभी खेती गर्दा करिब १ लाख रुपियाँ लाग्ने गरेको पनि खत्रीले बताउनुभयो। उहाँले बजार क्षेत्रसम्म लैजादा ढुवानी खर्च नै नउठ्ने अवस्था आएपछि गाईबस्तु चराउन थालिएको बताउनुभयो । बजारमा प्रति केजी ५ रुपियाँ रहेको छ । यज्ञबहादुर मात्रै होइन यस क्षेत्रमा खेती गरेका सम्पूर्ण किसानहरुले समस्या उस्तै छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले किसानहरुले उत्पादन गरेको बस्तु बजारीकरणमा समस्या सिर्जना भएको भन्दै पालिकाको तर्फबाट २ वटा क्षेत्रमा हाटबजार स्थापनाका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो ।उहाँले किसानहरुलाई पकेट क्षेत्र निर्धारण बेमौसमी तरकारी खेती उत्पादनका लागि प्रोत्साहन गरिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले किसानहरुले उत्पादन गरेका बेमौसमी तरकारी बिक्री वितरण र मूल्यमा समस्या नभए पनि मौसमी तरकारी खेतीमा भने विगत देखि नै मूल्य र बजारीकरणको समस्या रहेको बताउनुभयो ।