काठमाडौं, जेठ २४ । साताको चौथौ कारोबार दिन आज बुधबार पनि नेप्से बढेको छ । नेप्से आज चार दशमलव ६८ अंकले बढेर १९ सय ३२ दशमलव ३३ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ३८ अंकले बढेर तीन सय ६५ दशमलव ४७ अंकमा पुग्न सफल भएको छ । दुई सय ६१ वटा कम्पनीहरूको ४१ हजार छ सय १३ पटकको कारोबारमा ६५ लाख ४१ हजार तीन सय ८८ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम रकम दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार छ सय ३५ रुपैयाँ ९२ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् भने विकास बैंक, जलविद्युत, लगानी, उत्पादनमूलक, लगानी, अन्य ट्रेडिङ समुहहरूको सूचक भने बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी, समिट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ इक्विटी फण्ड लिमिटेड, रिभर फल्स पावर लिमिटेड, एनआईबिएल प्रगति फण्ड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, नागरिक लगानी कोष, शिवम् सिमेन्ट आदि परेका छन् ।