Kath khabar
मनसुनी वायु भारतको केरला आइपुग्यो, नेपालमा कहिले भित्रिएला ?

 

                  काठमाडौं, जेठ  २६ ।  यस पालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ १/२ दिन अघि वा पछि पनि हुन सक्ने उनको भनाइ छ ।

अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेको उनले बताए । मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उनको भनाइ छ ।

झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा ५ दिन लाग्ने मौसमविद् लामिछानेले बताए । भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ । त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रने उनको भनाइ छ ।

गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो । सन् २०२१ मा जुन ११ मा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update