ललितपुर, जेठ २६ । काठमाडौंका मुख्य सहरका पसल र अन्य व्यापारिक स्थलमा पार्किङस्थलको माग गर्दै व्यापारीहरूले कालो ब्यानर राखेको महिनौँ भइसक्यो । काठमाडौं महानगरले वैकल्पिक व्यवस्था नगरी सार्वजनिक स्थलबाट पार्किङ हटाएकोमा उनीहरू आन्दोलित बनेका हुन् । उपत्यका पार्किङ व्यवस्थापन संघर्ष समितिमा आबद्ध भई उनीहरूले विभिन्न दबाब मूलक कार्यक्रम पनि गरिरहेका छन् ।
व्यवसायीहरूले विरोध गरे पनि पार्किङको समस्या ज्युँका त्युँ छ । तर, सिमाना जोडिएको ललितपुर महानगरपालिकाले भने पार्किङका विषयमा व्यवसायीबाट कुनै गुनासो सुन्नुपरेको छैन । न त नगर प्रहरीले सडक छेउछाउ रोकेको सवारी साधन उठाउन ट्रक नै लिएर हिँड्नु परेको छ । महानगर प्रहरी प्रमुख सीताराम हाछेथू भन्छन् - ललितपुर महानगरले चुस्त पार्किङ व्यवस्थापन गरेको छ । जसका कारण पार्किङ बारे कुनै गुनासो सुन्नुपरेको छैन । महागनरभित्रका ३० ठाउँमा नि:शुल्क पार्किङको व्यवस्था गरेका छौँ । ती पार्किङस्थलमा पार्किङ गरेर ५ मिनेटमा गन्तव्यमा पुग्न सक्ने अवस्था छ ।
महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । साँघुरो ठाउँ र नो पार्किङ क्षेत्रमा पार्किङ गर्नेलाई भने जरिवाना तिराउने गरिएको हाछेथूले बताए । ‘साँघुरा सडक, नो पार्किङ लेखिएका ठाउँ, जहाँजहाँ जाम हुन सक्छ, दुर्घटना हुन सक्छ, त्यस्ता ठाउँमा पार्क गरिएको छ भने ५ सय रुपैयाँ जरिवाना तिराउँछौँ । जथाभावी पार्किङ गर्नुहुन्न भन्ने भावना जगाउन जरिवानाको व्यवस्था गरेका हौँ,’ हाछेथूले भने ।
कहाँ कहाँ छन् त नि:शुल्क पार्किङ ?
ललितपुरको मंगलबजार, हःजा, हौगल, टंगाल, नःटोल, पाटनढोका गेट अगाडि र पछाडि, सुन्धारा, पाटन भीमसेन मन्दिर अगाडि, पुल्चोक दमकल अगाडि, जावलाखेल प्रहरी कार्यालय अगाडि, महानगरपालिका अगाडि, भनिमण्डल, एकान्नकुना खरीबोट, मानभवन, कुमारीपाटी, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चय कोष अगाडि पार्किङ गर्न सकिन्छ ।
यसैगरी, महालक्ष्मीस्थान अगाडि, जिल्ला अदालत अगाडि, लगनखेल बसपार्क पूर्व, लगनखेल बसपार्क उत्तरतर्फ, बटुक भैरव, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्ट मेरिज स्कुल पूर्वतर्फ, करिडोर युएन पार्क नजिकै, सानेपा करिडोर, बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी र सुमेरु अस्पताल, निदान अस्पताल, अल्का अस्पतालको पार्किङमा नि:शुल्क राख्न सकिन्छ । चक्रपथ बाहिर भने पार्किङको समस्या नभएको महानगरले जनाएको छ ।