काठमाडौं, जेठ २७ । ललितपुरको बाँडेगाउँमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेहरूमा बागमती प्रदेश ०२–०३३ प ३४ ०१ नम्बरका मोटरसाइकल चालक बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, सुदुरपश्चिम प्रदेश ०१–०१० प १५ ०६ नम्बरका मोटरसाइकल चालक अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, बा ९८ प ९४ १२ नम्बरका मोटरसाकल चालक ललितपुरका २३ वर्षिय अमित कार्की, बा १९ प ३४ ७२ नम्बरका मोटरसाइकल चालक ललितपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र प्रदेश ३–०२–००२ प ७७ ४३ नम्बरका मोटरसाइकल चालक मोरङको बिराटनगर घर भई हाल चाबहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन् ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर सातदोबाटो, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएका संयुक्त टोलीले हिजो ललितपुरको बाँडेगाउँमा सवारी साधनलाई चेक गरेको थियो ।
लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले कारबाही अभियानलाई तिब्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
भाडाका सवारी साधन चलाउने चालकहरूले समेत लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकाले आफु सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।