Kath khabar
अत्यधिक गर्मीले तराई/मधेशका लामखुट्टे समेत मरे

 

               रुपन्देही, जेठ २८ ।  रुपन्देहीको सैनामैना नगरपालिका-१ का ५६ वर्षीय नेत्रहरि कुँवरलाई एक साता देखि लामखुट्टेले टोकेको छैन। तराई मधेशमा चैत देखि नै लामखुट्टले बसीखान दिँदैन्थ्यो। जेठ दोस्रो साता देखि लामखुट्टे कम देखिन थालेको कुँवर सुनाउँछन्। “गर्मी बढ्दा लामखुट्टे मर्दा रहेछन् कि क्या हो ? अहिले त झुल नटाँगेरै पनि सुत्न सकिने भएको छ,” उनी भन्छन्।

केही दिनयता रुपन्देही सहितका तराई जिल्लामा अत्यधिक बढिरहेको गर्मीका कारण लामखुट्टे देखिन छाडेका छन्। सामान्यतया ग्रीष्म याममा लामखुट्टेको सक्रियता बढ्ने गर्छ। तर, अहिले लगातार बढिरहेको तापमानले जीवनचक्र बिथोलि दिएपछि तराईका घरमा लामखुट्टे उड्न छाडेका छन्। जनकपुरधामको अवस्था पनि त्यस्तै छ। चैतको शुरूआत देखि नै झुल टाँग्न थालेका स्थानीय बासिन्दालाई आजभोलि लामखुट्टेले सताएको छैन।

झापाको दमक होस् कि सुनसरीको धरान, नवलपुरको दुम्कौली होस् कि कैलालीको अत्तरिया। पूर्वदेखि पश्चिमसम्मका तराई मधेशका गाउँशहरमा लामखुट्टे पहिले जस्तो देखिएका छैनन्। गर्मी शुरू हुने बित्तिकै आपत् पार्ने लामखुट्टे उखरमाउलो गर्मीमा भने कमै देखिएका छन्।

किन लामखुट्टे कम देखिएका छन् ? जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख डा. गौरव पोखरेलको छोटो जवाफ छ, 'अत्यधिक गर्मी'। गर्मीका कारण लामखुट्टेको वासस्थान नष्ट भएको डा. पोखरेल बताउँछन्। “जमेको पानीमा लामखुट्टे हुर्कन्छन्, तर गर्मीले जमीनको सतह सुक्खा बनाएको छ। पानी जम्न पाएको छैन। त्यसैले लामखुट्टे कम भएका हुन्,” डा. पोखरेल भन्छन्।

लामखुट्टे त कम भएका छन्, यससँगै तराई मधेशका जिल्लामा अर्को आश्चर्यजनक परिवर्तन पनि देखिएको छ। त्यो हो, अस्पतालमा बिरामीको चाप कम भएको छ। गर्मी लागेसँगै भरिभराउ हुने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक साताएता आश्चार्यजनक तरीकाले बिरामीको चाप घटेको छ।

गत शनिबारएता बिरामीको चाप घटेको अस्पतालका फिजिसियन डा. नन्दु पाठक बताउँछन्। शनिबार बिदा भएकाले आइतबार केही बढे पनि त्यसपछिका दिनमा बिरामी घटेको उनको भनाइ छ। डा. पाठकका अनुसार साधारणतया जेठको यो समयमा अस्पताल मलेरिया, डेंगी तथा टाइफाइडका ‘सिजनल’ बिरामीले भरिनुपर्ने हो। “मलेरिया, डेंगी तथा टाइफाइडका बिरामी निकै कम आएका छन्। साधारण ज्वरो र हिट स्ट्रोक (लू) का केही केश हेर्नु बाहेक ओपीडीमा दिउँसो देखि खाली जस्तै बसेका छौं,” डा. पाठक भन्छन्।

प्रायः तराई मधेशका अस्पतालमा जेठ दोस्रो सातादेखि बिरामी घटेका छन्। किन घटे बिरामीरु डा. पाठक यसको सम्बन्ध लामखुट्टेसँगै जोड्छन्। लामखुट्टे नभएकै कारण अस्पतालमा बिरामीको चाप कम भएको उनको बुझाइ छ। “गर्मीले जीवाणु र लामखुट्टेका लार्भाको विकास हुन पाएको छैन,” डा। पाठक भन्छन्, “डेंगी, मलेरिया, टाइफाइड जस्ता रोगहरू स्वतः कम हुने भइहाले।”

गर्मीकै कारण लामखुट्टे कम भएका हुन् त ? प्राणीशास्त्रीहरू गर्मीकै कारण लामखुट्टे कम भएको बताउँछन्। उनीहरूका अनुसार गर्मी बढे पछि अत्यधिक वाष्पीकरण भइरहेको छ। जसले गर्दा जमीनको सतह सुक्खा भएको छ। बिरुवा सुकेका छन्। पोखरी र नालामा पानी देखिन छाडेको छ।

जमीन र हावामा आर्द्रताको मात्रा घटेपछि लामखुट्टेलाई बाँच्न गाह्रो भइरहेको बुटवल बहुमुखी क्याम्पसमा प्राणीशास्त्रकी प्राध्यापक माया उपाध्याय बताउँछिन्। प्राध्यापक उपाध्यायका अनुसार लामखुट्टेको हुर्काइका लागि ग्रीष्म याम अनुकुल भए पनि अत्यधिक गर्मी सहन सक्दैनन्। “लामखुट्टेले सामान्य रूपमा वनस्पतिको रस  (नेक्टर) खान्छ र पोथी लामखुट्टेले अन्डा पार्ने समयमा मात्र स्तनपायीको रगत खान्छ,” उपाध्याय भन्छिन्, “सुक्खापन बढ्दै जाँदा लामखुट्टेले वनस्पतिबाट तरल पदार्थ पर्याप्त पाउँदैन। निर्जलीकरणले बाँच्न नसक्ने अवस्था आउन सक्छ।”

बुटवल बहुमुखी क्याम्पसकैै प्राणीशास्त्रका अर्का प्राध्यापक द्रोणप्रसाद कौनिडियाका अनुसार लामखुट्टेको जीवनचक्रमा अन्डा, लार्भा र प्यूपा अवस्थाका लागि स्थिर र जमेको पानी आवश्यक पर्छ। लार्भाले पानीमा रहेका सूक्ष्म जीव खाएर प्यूपा बन्छ। “पानी नै भएन भने पोथीले अन्डा पार्न पाउँदैन, लार्भाले खान पाउँदैन। पूरै जीवनचक्रमा अवरोध आउँछ,” कौनिडिया भन्छन्, “धेरै गर्मीका कारण पानी सुकेकाले अहिले लामखुट्टे हराएका हुन्।”

लामखुट्टे कम भए पनि अत्यधिक गर्मीका कारण चलेको तातो हावा ‘लू’ ले तराई मधेशको जनजीवन प्रभावित छ। जेठ तेस्रो साता देखि मध्य तराई अर्थात् पर्सा देखि भैरहवा क्षेत्रसम्म 'लू' चलिरहेको छ। अहिले यो विस्तार भएर पश्चिम तराईको नेपालगञ्ज र पूर्वी तराईको मोरङसम्म पुगेको छ। ती क्षेत्रमा पनि तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

४ साताएता तराई मधेशसँगै पहाडी क्षेत्रका उपत्यका र खोंचमा पनि तापक्रम बढिरहेको विभागले जनाएको छ। विभागका अनुसार जेठ २१ गते देखि २६ गतेसम्म रुपन्देहीको तापक्रम लगातार ४० डिग्री सेन्टिग्रेडभन्दा माथि मापन भएको छ। जेठ २६ मा बाँके, चितवन, पर्सा, बारा, सर्लाही लगायत जिल्लामा ४२ डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update