बर्दिया, जेठ २८ । भिडिओ बनाउने क्रममा चितुवाको आक्रमणमा परी बर्दियामा ५ जना घाइते भएका छन्।
शनिबार बेलुका ४ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बनतरिया जाने बाटोको छेउमा दलिराम चौधरीको मकै बारीमा चितुवासँग भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिँदा ५ जना घाइते भएका प्रहरीले जनाएको छ।
चितुवा देखे पछि स्थानीय २०/२५ जना युवाहरूको समूह जम्मा भई नजिकै गएर सेल्फी र भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी हिक्मत बहादुर बोहोराले बताए।
चितुवाको आक्रमणबाट ठाकुरबाबा-९ का ४९ वर्षीया सीता थरुनीको बायाँ हात र पिँठ्यूमा चिथोरेको, स्थानीय ३० वर्षीय सोमप्रसाद थारुको दाहिने हातको औंलामा घाउ खत भएको, ४० वर्षीय सोहराम थारुको बायाँ हातमा घाउ खत भएको, ४५ वर्षीय रामदास चौधरीको पिँठ्यू, बायाँ खुट्टामा घाउ खत रहेको र २८ वर्षीय चन्द्र बोगटीको बायाँ खुट्टामा चितुवाले चिथोरी घाउ खत बनाएको डिएसपी बोहराले जानकारी दिए।
चितुवाको आक्रमणबाट सामान्य घाइते भएका ५ जनलाई स्थानीय चन्दु गगन मेडिकलमा उपचार गरिएको थियो। चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिई बेलुका सवा ८ बजेतिर निकुञ्जमा छाडेको जिल्ला प्रहरी प्रवक्ता बोहोराले जानकारी दिए।