Kath khabar
बिदेशी मुद्राको सञ्चिती १४ खर्ब ३६ अर्ब 

काठमाडौ, बैशाख २
बिदेशी मुुद्राको सञ्चिती बढेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो अवधिमा सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी प्रतिवेदन अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी मुुद्राको सञ्चिती दुुई दसमलव पाँच प्रतिसतले बढेर फागुन मसान्तमा १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको हो । 
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा छ दसमलव दुुइर्ए प्रतिशतले बढेर १२ अर्ब ३७ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ फागुन मसान्तमा तीन दसमलव तीन प्रतिशतले बढेर १२ ६६ अर्ब १० करोड रुपैयाँ पुगेको छ । 
राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ फागुन मसान्तमा तीन प्रतिशतले कमी आई एक खर्ब ७० अर्ब ४४ करोड कायम भएको छ । २०७७ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २७ दसमलव छ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७७–०७८ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ महिना पाँच दिनको वस्तु आयात र ११ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६ दसमलव चार प्रतिशत, ९४ दसमलव चार प्रतिशत र ३० दसमलव पाँच प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५ दसमलव पाँच प्रतिशत, एक सय पाँच दसमलव सात प्रतिशत र ३३ दसमलव एक प्रतिशत रहेका थिए । 
राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७६ फागुन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ३३ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ फागुन मसान्तमा एक सय आठ दसमलव सात प्रतिशतले वृद्धि भई अमेरिकी डलर ६८.८७ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १५६२.८० रहेकोमा २०७७ फागुन मसान्तमा नौ दसमलव एक प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७०४.८०पुगेको छ । २०७७ असार मसान्तको तुलनामा २०७७ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ तीन दसमलव छ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ सात दसमलव सात प्रतिशतले अवमूल्यन भएको थियो । २०७७ फागुन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १६ रुपैयाँ १६ पैसा पुगेको छ । २०७७ असार मसान्तमा उक्त विनिमय दर एक सय २० रुपैयाँ ३७ पैसा रहेको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  ००:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update