काठमाडौं, जेठ ३० । विद्यार्थी संगठनले काठमाडौंका ३ वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ।
काठमाडौंको संस्कृति इन्टरनेशनल स्कुल, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ।
छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु क्रान्तिकारीले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध गरेका छन् ।
‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ । विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ । चाहे त्यो सरकारी होस् वा निजी । हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ, ' प्रमुख शाहले भनेका छन् ।