काठमाडौं, जेठ ३० । काठमाडौं महानगरपालिकाले अखिल क्रान्तिकारीले लगाएको युलेन्स र संस्कृत स्कुलको ताला खोलेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा आज शिक्षा विभागका कर्मचारीद्धारा सानो भर्याङमा रहेको संस्कृत स्कुल र बाँसबारीमा रहेको युलेन्स स्कुलमा लगाइएको ताला फोडेर पठनपाठन सुरु गरेको हो ।
अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राख्दै आइतबार ताला लगाएको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न अनुरोध गरेका छन् ।
‘हामी शैक्षिक गुणस्तर सुधारका लागि नियमित काम गरिरहेका छौँ । विद्यालयमा कसैले पनि राजनीति गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ । चाहे त्यो सरकारी होस् वा निजी । हामीले विद्यालयमा लगाएको ताला फोडेर शैक्षिक क्रियाकलाप नियमित गराएका छौँ, ' प्रमुख शाहले भनेका छन् ।