हङकङ, जेठ ३० । एसीसी महिला टि-२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ।
हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग ९ रनको झिनो अन्तरले पराजित भएको हो। पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रनमा समेटियो।
नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन्। उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन्। त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन्। त्यस बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
पाकिस्तान ‘ए’ की सईदा शाह र तुवा हसनले समान २-२ विकेट झारे भने अनुशा नासिर र उम्मी हानीले समान १-१ विकेट लिए। त्यस अघि टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तान ‘ए’ ले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो। उसका लागी शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् भने कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन्। त्यस्तै गुल फरुजाले १८ बलमा ११ रन जोडिन्।