Kath khabar
घोराही सिमेन्टको साधारण शेयरको बिक्री खुल्ला



               काठमाडौं, जेठ ३२ । घोराही सिमेन्ट इन्डस्ट्रीले आज २०८० जेठ ३२ गतेदेखि सर्वसाधारणको लागी प्राथमिक साधारण शेयर(आईपीओ) को बिक्री खुल्ला गरेको छ । यो शेयरको प्रति कित्ता प्रिमियम मूल्य ४३५ रुपैयाँ कायम गरिएको छ । जम्मा ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणले आगामी असार ४ गते सम्ममा खरिद गर्न सक्नेछन् ।

निर्धारित समय भित्र शेयर बिक्री नभएमा असार १४ गतेसम्म यसको शेयर खरिद गर्न सकिनेछ । शेयर खरिदका लागी  न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले घोराही सिमेन्टको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

यसअघि वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि शेयरबिक्री खुल्ला गरेको थियो । सो क्रममा शेयर खरिद कार्यमा यहाँहरूले देखाउनु भएको उत्साहपूर्ण सहभागिता प्रति घोराही सिमेन्ट आभारी छ ।

नेपालको औद्योगीकरण र व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्द्धित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिङ्कर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो ।

यो  उद्योगको यसअघि दैनिक क्लिंकर उत्पादन क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेको थियो । हाल उद्योगले क्षमता विस्तार गर्दै दैनिक ६ हजार टन क्लिङ्कर र ४ हजार टन ग्राइन्डिङ गर्ने क्षमता बनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update