Kath khabar
भैरहवाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस

 

                  काठमाडौं, असार १ । पानी नपर्दा पश्चिम तराईमा उखरमाउलो गर्मी छ । एक हप्ताभन्दा लामो समयदेखि पश्चिम तराईमा तातो हावा 'लू' चलिरहेको छ । आज पनि 'लू' चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । लगातार एक हप्ताभन्दा लामो समय देखि तातो हावा चल्दा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।

मध्य र पूर्वी क्षेत्रमा मनसुन भित्रिएर पानी पर्न थाले पनि पश्चिमी क्षेत्रमा अझै मनसुन प्रवेश गरेको छैन । पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्न समय लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । मौसमविद्ले ३ दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएका छन् । अबको ३ दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।

पानी नपर्दा अधिकतम तापक्रम बढिरहेको छ । भैरहवाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस पुगेको छ । यस्तै, सिमरा र नेपालगञ्जको  अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस छ । जनकपुरको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्सियस, धनगढीको ३९.७, दीपायलको ३९.५, वीरेन्द्रनगरको ३८.७ र दाङ घोराहीको अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, आज कोशी प्रदेश र काठमाण्डौ सहित पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ । मनसुनी  वायुको प्रभावका कारण कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ तथा अन्य पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षाको अनुमान गरिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update