Kath khabar
काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहलाई क्यानले सोध्यो स्पष्टीकरण

 

                        काठमाडौं, असार १ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो ।

प्राधिकरणले बालेनलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ, 'काठमाडौँ महानगरपालिका वडा नं. ९ स्थित नक्सा सिट न. १०२–११४७–१५, कि.नं.३० को जग्गा यस प्राधिकरणले तारवार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो’ ।

साथै प्राधिकरणले तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा शाहको प्रत्यक्ष संलग्नता देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । 

प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको बताउँदै ७ दिनभित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।  महानगरका  प्रमुख सहित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update