Kath khabar
शल्यक्रिया गरिसकेपछि पनि किन बल्झिनसक्छ प्रोस्टेटको समस्या ?

  

                   काठमाडौं, असार १ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीको शुक्रबार(आज) बिहान प्रोस्टेटको सफल शल्यक्रिया भएको छ ।  

नर्भिक अस्पतालका यूरोसर्जन डा. भरत भण्डारी नेतृत्वको युरोलोजी टिमले चौधरीको प्रोस्टेटको सफल शल्यक्रिया गरेको हो । सो टिमलाई डा. सुरेश लामिछाने नेतृत्वको एनेस्थेसिया टिम, नर्सिङ स्टाफ लगायतको सहयोग रहेको थियो । शल्यक्रियापछि ६४ वर्षीय चौधरी नर्भिक अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई वर्षअघि पनि चौधरीको प्रोस्टेटको शल्यक्रिया गर्नुपरेको थियो । सो समस्या पुनः बल्झिएको हो ।  प्रोस्टेटको ट्रान्सयुरेथ्रल रिसेक्शन एक सर्जिकल प्रक्रिया हो, जसमा प्रोस्टेटको एक भाग काटिन्छ। प्रोस्टेट ग्रन्थी पुरुषको पिसाब थैली मुनि अवस्थित हुन्छ ।

प्रोस्टेट ग्रन्थी बढेपछि पिसाबको बाटो अवरोध हुन्छ । र, उपचारको रुपमा प्रोस्टेटको शल्यक्रिया गर्ने गरिन्छ । एकपटक प्रोस्टेटको उपचार गरिसकेपछि कतिपयको नली खुम्चिने, कतिपयको पूरा नकाटिएको वा पुनः बढ्ने अवस्था पनि बन्छ ।

यसैकारण कतिपयको एकपटक प्रोस्टेटको शल्यक्रिया गरेपछि पुनः समस्या बल्झिनसक्छ । चिकित्सकहरुका अनुसार ४५ वर्ष उमेर पूरा भएका पुरुषले प्रोस्टेट ग्रन्थीको समय–समयमा परीक्षण गरिरहनुपर्छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update