काठमाडौं, असार १ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा नियुक्त भएका छन् ।
नेपाल भलिबल संघ (एनभीए) ले किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि हरि हजुरलाई कप्तान नियुक्त गरेको हो । ईम राना मगरको स्थानमा संघले हरिहजुरलाई कप्तानमा नियुक्त गरेको हो । काभा नेसन्स लिग खेल्ने नेपाली टोलीमा ईम छैनन् ।
यससँगै हरिहजुर नेपाली पुरुष भलिबल टोलीको दशौं कप्तानको रुपमा जिम्मेवारी सम्हाल्ने भएका छन् । उनको कप्तानीमा नेपालले काभा नेसन्स लिग खेल्ने छन् । जसका लागि नेपाली टोली किर्गिस्तान प्रस्थान समेत गरिसकेका छन् । नेपाली टोली आज (शुक्रबार) बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका हरिहजुर आर्मीका समेत कप्तान हुन् । उनी सन् २०१५ देखि नेपाली टोलीको नियमित सदस्यको रुपमा खेल्दै आएका छन् ।
प्रतियोगिता असार ३ देखि १० सम्म किर्गिस्तानको बिस्केकमा अयोजना हुँदैछ। सेन्ट्रल एसियन भलिबल संघ (काभा) अन्तर्गत माथिल्लो वरीयताका टिमहरुसँग नेपालले नेसन्स लिगमा प्रतिस्पर्धा गर्न लागेको हो ।
नेसन्स लिगमा नेपालसँगै आयोजक किर्गिस्तान, इरान, मंगोलिया, काजकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन्। प्रतियोगिता राउण्ड रोविन प्रणालीमा हुनेछ।
नेपाली टोलीले यस प्रतियोगितालाई आगामी साउनमा श्रीलंकामा हुने सेन्ट्रल एशियन सिनियर मेन्स भलिबल र असोजमा हुने एशियाली खेलकुदको तयारीका रुपमा लिएको छ।
नेपाली टोलीका प्रशिक्षक जगदीश भट्ट र सहायक प्रशिक्षक भरत यादवको प्रशिक्षणमा नेपालले एक महिना तयारी गरेको थियो।
नेपाली टोली :
हरिहजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा ।