Kath khabar
२० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर

 

                 सुर्खेत, असार १ ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज शुक्रवार देखि नगर माइक्रोबस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै २० रुपैयाँमा वीरेन्द्रनगर घुम्न सकिने भएको हो ।

वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्दै नरपालिकाका मेयर मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा शुरु भएसँगै नगरवासीलाई सहज हुने बताउनुभयो । नागरिकको आवश्यकतानुसार नगर माइक्रोबस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो ।

व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै मेयर ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रोबस सेवाले राहत दिने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नगर माइक्रोबस सेवा संयुक्त काउन्टरबाट सञ्चालन हुनेछ ।

वीरेन्द्रनगरमा एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपैयाँ कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताउनुभयो । बस मङ्गलगढी-काँक्रेविहार, मङ्गलगढी-एअरपोट चोक-बामेखोला, मङ्गलगढी-गणेशचोक-आँखा अस्पताल चोक हुँदै कालिञ्चोक-नेवारे पिपिरा, गणेशचोक-प्रदेश अस्पताल-बाङ्गेसिमल रुट जोडिने र गणेश चोक-कारागार-टेलिकम हुँदै कपासे रुट समेत थप गरिने उहाँले जानकारी दिनुभयो ।

यात्रुलाई सहज सेवा दिनका लागि सहुलियत भाडादर कायम गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले मुख्यतः चार लेन सडकको धुलियाबिटबाट मङ्गलगढी-यरिचोक हुँदै मूलपानी चोकबाट प्रदेश अस्पताल भएर बाङ्गेसिमलसम्म पुग्ने गरी माइक्रोबस सेवा सञ्चालन गरिएको छ । १० वटा माइक्रोबस १०-१० मिनेटको फरकमा छुट्नेछ ।

सुर्खेतमा अटोरिक्सामा प्रति किलोमिटर ५० देखि १५० रुपैयाँसम्म भाडा लिने गरेकोमा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update