काठमाडौं, असार २ । काठमाडौंको नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा ना ५ ख ६० ०७ नम्बरको ट्रक चालक चितवनको भरतपुर महानगरपालिका ११ का ३३ वर्षीय अनिल तामाङ, बा ५ ख २४ ६५ नम्बरको निशान गाडीका चालक ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका ५ का २३ वर्षीय नवराज बुढाथोकी, बा १० च ४० २० नम्बरको बलेरो जीप चालक सर्लाहीको ईश्वपरपुर नगरपालिका १२ का २७ वर्षीय सुनिल कुमार बुढाथोकी, प्रदेश ३–०२–०३ प ८२ ४२ नम्बरको मोटरसाइकलका चालक पर्साको कालिकामाई गाउँपालिका ४ का २८ वर्षीय जितेन्द्र गिरी, र लु ४६ प २७ ९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का २१ वर्षीय श्रीधर सुवेदी रहेका छन् ।
नियन्त्रणमा लिएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले आज २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ५ जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।
लागूपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नु भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनका अलवा सडक सुरक्षा सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसका साथै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा पनि ल्याउँदै आएको छ । काठमाडौँ उपत्यकामा हाल दैनिक ३ हजार भन्दाबढी चालक ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाहीमा पर्दै आएका छन् ।