काठमाडौं, असार ४ । संघीय लाेकतान्त्रिक गणतन्त्रको रक्षा र समाजबादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ सोमबार समाजवादी मोर्चा नेपालको घोषणा हुँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दल मार्चामा आबद्ध हुनेछन् । नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको साझा सैद्धान्तिक उद्देश्य रहेको जनाइएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरा स्वभाविक भएको बताउनुभयो । संसद भवन परिसरमा आइतबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, एकता राम्रो कुरा हो । राम्रो उद्देश्य बाकेर समाजवादमा जाने सबै शक्तिलाई मिलाएर लानुपर्छ भन्ने मान्यता मोर्चाको छ ।,
जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले समाजवादको उद्देश्य प्राप्तिका लागि १५ बुँदे वैचारिक एवं राजनीतिक प्रतिबद्धता तयार गरिएको जानकारी दिनुभयो । मस्यौदामा संघीयता, लोकतन्त्र, सुशासन समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने उल्लेख छ ।
उहाँले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिलक समावेशी सिद्धान्त र संविधानप्रति प्रतिबद्ध भइर नेपाली विशेषताको समाजवाद स्थापना मोर्चाको साझा नीतिगत संकल्पत भएको बताउनुभयो । नेता श्रेष्ठका अनुसार मोर्चामा सहभागी दलका नेताहरुले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । सोमबार केन्द्रीय मोर्चा घोषणा गरेपछि आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाइनेछ । मोर्चाले केन्द्रीय संयोजन समिति बनाएको छ । संयोजन समितिको सचिवालय रहनेछ ।
मोर्चामा हालसम्म भएका उपलब्धीको रक्षा गर्दै समाजवादको बाटो तय गर्ने भन्दै आर्थिक, सामाजिक, सांस्कृतिक रुपानतरण र समृद्धिका सवालमा पनि साझा धारणा बनाइएको छ ।
सदियौँदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैंगिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेद अन्त्य गर्ने संकल्प गरिएको छ । मानव विकास सूचकांकमा पछाडि परेको मधेस, कर्णाली र सेती महाकालीलगायतका पिछडिएका क्षेत्र र जनताको विकास र अवसरलाई विशेगा प्राथमिकतामा राख्ने उल्लेख छ ।
त्यसैगरी राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरुपले बहिष्कारमा परेका वा पारिएका मधेसी, आदिवासी, जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसंख्यक, समुदाय, विपन्न, वर्गलगायतका सीमान्तकृत समुदायको पहिचान, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने प्रतिबद्धता गरिएको छ ।
समाजवादी मोर्चाले विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजीका लागि पहल गर्नेछ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्ता तथा सार्वजनिक, सहकारी एवं निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशिल भूमिकाका आधारमा समाजवादी अर्थ राजनीीतक व्यवस्था अवलम्बन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
उहाँले आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीलाई देशभित्र राजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको जानकारी दिनुभयो । (गोरखापत्रमा प्रकाशित)