काठमाडौं, असार ४ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गरेको छ ।
चलाउने विरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता विरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने आज आमरण अनशनका गर्ने भन्दै जिल्ला अदालत काठमाडौं जानु भएको थियो ।
समाजशास्त्रका उपप्राध्यापक चलाउने माथि २०७७ असोज २० गते त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसङ्घका हरि आचार्य, योगेन्द्र रावल सहित ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । यो मुद्दा सरकारले फिर्ता लिएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सहित केही व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
आफूमाथि कुटपिट गरेको घटना सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध स्वरूप उनी सोमबार अदालतमा पुगेका थिए। उनी सहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।
२०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत ७ जनाले उपप्राध्यापक चलाउने माथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। त्यसको मंगलबार अदालतमा पेशी समेत छ।
त्यसरी सरकारले मुद्दा नै फिर्ता गर्ने निर्णयपछि उनी अदालतमा सत्याग्रह शुरू गर्ने भन्दै त्यहाँ पुगेका थिए। आफूले न्याय पाउने सबै बाटो बन्द भएको भन्दै उनले यो कदम उठाउन बाध्य भएको बताएका हुन्।
‘अदालतमा विचाराधीन मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मलाई स्वीकार्य छैन। हेर्नुस् त, यो देशको विधिको शासन र लोकतन्त्र। अदालतलाई, यो बेन्चलाई अचानो बनाइँदैछ। मानवताको हत्या गर्न, सत्य, न्याय, सदाचार, नैतिकता, इमान्दारिताको हत्या गरिँदैछ,’ उनले भने।
राज्य नै अपराधीहरूले सञ्चालन गरिरहेको भन्दै उनले अनसन शुरू गर्ने बताएका हुन्।
‘मलाई राज्य संयन्त्रले न्याय दिन सकेन। यो देश गुण्डा, अपराधिको देश रहे। मलाई यो अपराधीको देशमा बाँच्नु छैन। राज्यले मलाई थप अन्याय गर्यो। त्यसैले म जस्ता हजारौं पीडित राज्यबाटै थप पीडित हुन नपरोस् भनेर न्यायका खातिर आमरण अनसन शुरू गर्दैछु, न्यायप्रेमी जनताहरूको साथ सहयोगको अपेक्षा सहित न्यायका खातिर बोलिदिन हुन अपिल गर्दछु,’ उनले भनेका छन्।
मन्त्रिपरिषदले मुद्दा फिर्ता गर्ने निर्णयको पत्र आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत महान्यायाधिवक्ता कार्यलय हुँदै सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेको हो। कार्यालयले उक्त निर्णय प्राप्त गरेसँगै मुद्दा फिर्ता गरेको पत्र काठमाडौं जिल्ला अदालतमा पुगिसकेको छ।