काठमाडौं, असार ५ । मङ्कीपक्स एक संक्रामक भाइरल रोग हो । मङ्कीपक्स रोग सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार, पहिलो पटक सन् १९५८ मा डेनमार्कको प्रयोगशालामा बाँदरमा र त्यसपछि सन् १९७० मा कङ्गोका मानिसमा मङ्कीपक्स पत्ता लागेको थियो । सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मङ्कीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ।
संक्रमण भएको ५ देखि २१ दिनपछि सुरुमा टाउको दुख्ने, मांसपेशी दुख्ने, ज्वरो आउने र थकान लाग्ने जस्ता प्रारम्भिक लक्षणहरू देखा पर्छन् । ज्वरो आएको केही दिनमै अनुहारमा, हातको हत्केला र खुट्टामा फोकाहरू देखा पर्न सक्छन् । यो फोका दादुरा र ठेउला जस्तै हुन सक्छ। मङ्कीपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।
नेपालमा पनि पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ। गत शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षिया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको थियो ।
मङ्कीपक्सका लक्षण तथा रोकथामहरु
एमपक्स रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ-खटिरा-बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै: थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावरबाट, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने गर्दछ ।
यो भाइरसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने तथा आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ।
मङ्कीपक्स भाइरसको रोकथामका लागि एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने स्वस्थ्यविदहरुको भनाइ छ ।
घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिम छ भए पञ्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने, मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा जानु हुदैन।
सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निःसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहरलाई उचित स्थानमा व्यवस्थापन गर्ने लगायत कार्य गर्नुपर्ने हुन्छ ।