काठमाडौं, असार ७ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिनेबारे मन्त्रिपरिषद्ले गएको मङ्गलवार गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । यस्तै सर्वोच्चले प्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरूविरुद्धको मुद्दा फिर्ता लिनुको कारण देखाउन सरकारलाई आदेशसमेत जारी गरेको छ ।
हालै कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णय जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा पेश भएको थियो ।
आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय बदर गराउन उपप्राध्यापक चलाउने बुधबार सर्वोच्च अदालत गएका थिए। चलाउनेमाथि २०७७ असोज २० गते त्रिवि परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।