काठमाडौं, असार ७ । आइसिसि एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपाल दुई पटकको विश्वविजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा आज सम्पन्न खेलमा नेपाल १०१ रनले पराजित भएको हो ।
नेपालले ४९.४ ओभरमा अल आउट हुँदै २३८ रन मात्र बनाउन सफल रह्यो । नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए ।यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । दिपेन्द्र सिंह ऐरीले २० बलमा २३ रन जोडे । यस्तै, कुशल भुर्तेल ६ बलमा ५, भीम सार्की ७ बलमा २, कुशल मल्ल ६ बलमा २ रन तथा सन्दीप लामिछाने ४ बलमा १ रनमा आउट भए ।
वेस्ट इन्डिजका तर्फबाट शाइ होप र निकोलाश पूरनले शतक प्रहार गरे । होपले १२९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १३२ रन तथा पूरनले ९४ बलमा १० चौका र ४ छक्काको सहयोगमा ११५ रनको शतकीय योगदान दिए ।
यो जितसँगै वेस्ट इन्डिज २ खेलमा ४ अङ्कसहित समूह 'ए' को शीर्ष स्थानमा पुगेको छ । नेपाल ३ खेलमा २ अङ्कसहित चौथो स्थानमा छ । विश्वकप छनोटमा नेपाल रहेको समूह 'ए' मा वेस्ट इन्डिजसँगै जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह 'बी' मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् ।
‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् । अब नेपालले समूह चरणको अन्तिम खेल २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।