Kath khabar
सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरूलाई चन्द्रागिरि, मौलाकाली र लुम्बिनी केबलकारले टिकट मूल्यमा छुट दिने



                 काठमाडौं, असार ८ । आइएमई ग्रुप अन्तर्गतका  केबलकार कम्पनीहरु चन्द्रागिरि हिल्स, मौलाकाली केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरूलाई केबलकारको टिकट मूल्यमा छुट दिने भएका छन् ।

बिहिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीनवटै केबलकार कम्पनीहरूले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन् । सम्झौता अनुसार, बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरू, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केबलकारको टिकट मूल्यमा  २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले  सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले पेन्सन पट तथा  आश्रित परिवारहरुले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ । सम्झौतापत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल र मौलाकाली तथा लुम्बिनी केबलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गर्नु भएको छ ।

बलका प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा आइएमई अन्तर्गतको बेष्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाह लगायत आइएमई ग्रुप तथा शसस्त्र बलका  प्रतिनिधिहरूको सहभागिता थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update