काठमाडौं, असार ८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले संयुक्त राज्य अमेरिकाका क्रिकेट खेलाडी काइल फिलिपलाई निलम्बित गरेको छ ।
जिम्बाबेको हरारेमा सञ्चालन भइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर्समा फिलिपले अवैध बलिङ्गको एक्सन गरेको कारण उनलाई आईसीसीले निलम्बित गरेको हो । आईसीसीको इभेन्ट प्यानलले फिलिपले अवैध एक्सनबाट बलिङ्ग गरेको पुस्टि गरेपछि आईसीसीले उनलाई निलम्बित गरेको हो ।
१८ जुनमा वेस्ट इण्डिज विरुद्ध भएको खेलमा फिलिपले अवैध एक्सनमा बलिङ्ग गरेको फुटेजमा देखिएको थियो । त्यसपछि उक्त फुटेजको समिक्षा गर्दै इभेन्ट प्यानलले आईसीसीलाई जानकारी गराएका थिए।
त्यसपछि आईसीसीले नियमको अनुच्छेद ६.७ अनुसार फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ्ग गर्न प्रतिबन्ध लगाएको हो । अब फिलिपले जबसम्म बलिङ्ग एक्सन सुधार ल्याएर वैधानिक बनाउँदै तबसम्म उनीमाथिको प्रतिबन्ध कायम रहने छ । क्वालिफायर्स अन्तर्गत लगातार तेश्रो हार व्यहोरेसँगै अमेरिका बिहीबार नै विश्वकप क्वालिफयर्सबाट बाहिरी सकेको छ ।