Kath khabar
झन्डै १८ अर्बले घट्यो विदेशी लगानी

काठमाडौं, असार २ । नेपालको उद्योग क्षेत्रमा गरिने विदेशी लगानीमा भन्डै १८ अर्ब रुपैयाँले कमी आएको छ । चालु आर्थिक वर्ष (२०७६/७७) को ११ महिना (जेठमसान्त) को अवधिमा प्रत्यक्ष विदेशी लगानीमार्फत् उद्योग क्षेत्रमा आउने लगानी रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७ अर्ब ९७ करोड ९७ लाख रुपैयाँले कमी आएको उद्योग विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष (२०७६/७७) को ११ महिना (जेठमसान्त) को अवधिमा प्रत्यक्ष विदेशी लगानीमार्फत् २६ अर्ब १ करोड ९१ लाख रुपैयाँ भित्रिएको उद्योग विभागले जानकारी दिएको छ । सो रकम एक सय ५१ वटा उर्जा, पर्यटन, कृषि, उत्पादनजन्य लगायतको उद्योग स्थापना तथा चार हजार तीन सय ३५ जनालाई रोजगारी दिने उद्देश्यका साथ विदेशी लगानीकर्ताले विभागबाट स्वीकृत गराउनु भएको हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा विदेशी लगानीकर्ताहरुले एक सय ८७ वटा उद्योग स्थापना गर्ने भन्दै ४३ अर्ब ९९ करोड ८८ लाख विभागबाट स्वीकृत गराउनु भएको थियो । सो लगानी रकम उद्योग स्थापना सँगै नौ हजार चार सय ५१ जनालाई रोजगारी दिनको लागि समेत हो ।  

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सबैभन्दा बढी लगानी पर्यटन, सेवा, उत्पादन, सूचना प्रविधि लगायतका उद्योगको लागि आएको पाउन सक्छौं । विभागका अनुसार विदेशी लगानीकर्ताहरुले १५ अर्ब ९३ करोड ८५ लाख पर्यटन, पाँच अर्ब ५३ करोड ५० लाख सेवा, दुई अर्ब ८३ करोड ५६ लाख उत्पादन, एक अर्ब तीन करोड सूचना प्रविधि, ५६ करोड कृषि तथा वनजन्य र १२ करोड उर्जाजन्य उद्योग स्थापनाको लागि विभागबाट स्वीकृत गराउनु भएको छ । विदेशी लगानीकर्ताहरुले सो लगानी स्वीकृत ८३ वटा पर्यटन, ३५ वटा सेवा, १६ वटा उत्पादन, १२ वटा सूचना प्रविधि, तीन वटा कृषि तथा वनजन्य र दुई वटा उर्जाजन्य उद्योग स्थापनाको लागि गराउनु भएको हो ।  

त्यस्तै, गत आर्थिक वर्षको सोहि अवधिमा भने विदेशी लगानीकर्ताहरुले सबैभन्दा बढी उर्जा, सूचना तथा प्रविधि, पर्यटन, सेवा, उत्पादन र कृषि तथा वनजन्य उद्योगको लागि विभागबाट लगानी स्वीकृत गराउनु भएको थियो । उहाँहरुले ११ अर्ब ८२ करोड २६ लाख उर्जा, १० अर्ब ५५ करोड ४४ लाख सूचना तथा प्रविधि, नौ अर्ब १४ करोड ३२ लाख पर्यटन, आठ अर्ब ७२ करोड ५० लाख सेवा, तीन अर्ब २१ करोड ८५ लाख उत्पादन र ५३ करोड ५० लाख कृषि तथा वनजन्य उद्योग स्थापनाका लागि विभागबाट लगानी स्वीकृत गराउनु भएको हो । सो लगानी स्वीकृत एक सय ८७ वटा उद्योग तथा नौ हजार चार ५१ जना रोजगारी दिनको लागि हो । ११ महिनाको अवधिमा  १८ अर्ब चिनियाँ, तीन अर्ब ब्रिटिश भर्जिन आइसल्याण्ड, एक अर्ब ८३ करोड अमेरिकी लगानीकर्ताहरुले उद्योग स्थापनाका लागि विभागबाट लगानी स्वीकृत गराउनु भएको हो । नेपालको उद्योग क्षेत्रमा एसिया, अमेरिका, अफ्रिका गरेर ९० वटा भन्दा बढी मुलुकबाट लगानी आउने गरेको पाईन्छ ।

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update