Kath khabar
सरकारी कर्मचारीहरुलाई टिकटक बनाउन रोक

 

                 काठमाडौं, असार ११ ।  कार्यालय पोसाक र कार्यालय समयमा सरकारी कर्मचारीहरुलाई टिकटक बनाउन रोक लगाइएको छ । उच्छृङ्खल किसिमका टिकटक भिडियोहरु बनाउने कार्यमा वरिष्ठ सरकारी अधिकारीहरु नै संलग्न रहेको उजुरी पर्न थाले पछि सरकारले आफ्ना कर्मचारीहरुलाई त्यस्ता खालका टिकटक नबनाउन निर्देशन दिएको छ ।

त्यस्तो टिकटक कर्मचारी माथि गृह प्रशासनले अनुगमन र निगरानी समेत बढाउने निर्णय गरेको छ । गृह मन्त्रालयले गत जेठ १६ गते सचिवस्तरीय निर्णयबाट टिकटक भिडियो बनाउने कर्मचारीले पालना गर्नुपर्ने ७ नियम सर्कुलरका रुपमा मातहतका कार्यालयमा पठाएको छ ।

मन्त्रालयकी शाखा अधिकृत मालती पन्तद्वारा हस्ताक्षरित सर्कुलरमा कार्यालय समयमा कार्यालय परिसर भित्र र कर्मचारी पोसाकमा टिकटक जस्ता भिडियो खिचेर सामाजिक सजालमा नराख्ने उल्लेख छ । यसैगरी सरकारी सवारी साधनको प्रयोग गरी टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्ने, कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारबाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जाल मार्फत सेयर नगर्ने र नगराउने निर्देशन दिइएको छ ।

यसैगरी कार्यालयको काम कारबाहीको विवरण जानकारी गराउँदा, सार्वजनिक गर्दा व्यक्तिगत प्रचार-प्रसार र जस लिने आशयले नगर्ने, आफ्नो नियमित कर्तव्य भित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेको जस्तो देखिने गरी व्यक्तिगत सञ्जालहरुमा समेत नराख्ने पनि कर्मचारीहरुलाई सर्कुलर गरिएको हो ।

सार्वजनिक पदधारण गरेका सबै राष्ट्रसेवक कर्मचारीले पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालको विषयवस्तु सामाजिक सञ्जालमा नराख्ने निर्देशन दिइएको छ । गृह मन्त्रालयद्वारा जारी गरिएका निर्देशन कार्यान्वयन भए नभएको सूक्ष्म अध्ययन र अनुगमन हुने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update