रोमनीया, असार ११ । गायक प्रकाश सपुतले आफुमाथि दुर्व्यहार गर्नेलाई कारबाही नगर्न प्रहरीलाई अनुरोध गरेका छन् । आफूले माफी दिइसकेकाले थप कारबाही नगर्न रोमानियाका प्रहरी अधिकारीलाई उनले अनुरोध गरेका हुन् ।
स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार भए लगत्तै सुरक्षामा खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । बोतल प्रहार गर्ने ती नेपालीलाई कारबाही नगर्न सपुतले अनुरोध गरेका छन् ।
आफूले माफी दिइ सकेका कारण रोमनीयाको प्रहरीलाई माफ दिनु भनेको र हिजै प्रहरीले समातेको बेला छोडिदिनु भनि सकेको उनले बताएका छन् । नेपालमा भए छुट्टै कुरा हुने भए पनि बिदेशको कानुनको झमेलामा नपार्न आफूले अनुरोध गरेको उनको भनाइ छ ।
गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा बोतल प्रहार भएको थियो । सपुतले आफ्नो नाकमा सामान्य चोट लागेको बताएका छन् । उनी गायिका प्रिती आलेसँगै ‘याद नेपाली म्युजिक फेस्टिवल २०२३’ मा सहभागी हुन त्यहाँ पुगेका हुन् ।