काठमाडौं, असार १२ । लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ’मत मर्छु कि क्याहो’ युट्युबमा सार्वजनिक गरिएको छ ।
कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ’ओहो मुभिज’ मा राखिएको थियो । धुर्मुस सुन्तली युट्युबमा आज (सोमबार) दिउँसो ३ः३० मा सार्वजनिक गरिएको हो ।
फिल्ममा उनीहरुलाई धुर्मुस र सुन्तलीकै भूमिकामा देखिएका छन् । फिल्ममा धुर्मुस र सुन्तलीसँगै रबि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ ।
यसमा लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुवैले गरेका छन् । धुर्मुसले भनेका छन्, ’यसलाई हामीले वेब फिल्म भनेका छौं । ठुलो पर्दाको चलचित्र भने होइन ।’ उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरुपमा फिल्म निर्माण गर्नेछन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।